काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको विकास आवश्यक भएको बताएका छन्।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा निजी क्षेत्रको लगानीमा निर्माण भएको १०० शय्याको सेन्ट्रल अस्पतालको उद्घाटन गर्दै अध्यक्ष यादवले यस क्षेत्रको स्वास्थ्य क्षेत्रको सुधारका लागि अस्पतालको योगदान रहने विश्वास व्यक्त गरे।
शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सहकारी र निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेकाले बताउँदै उनले तीनै तहका सरकारले सहकारी र निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिए।
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका यादवले उपचारको अभावमा कसैको मृत्यु हुन नपरोस् भन्ने उद्देश्यका साथ आफूले नयाँ स्वास्थ्य नीति ल्याएको चर्चा गर्दै सोही नीतिअनुसार प्रत्येक पालिकामा अस्पताल निर्माण हुन लागेकामा खुसी व्यक्त गरे। विगतमा सोही स्वास्थ्य नीतिअनुरूप नेपालमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको बताउँदै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन तीनै तहका सरकारसँग आग्रहसमेत गरे।
अझै पनि मधेश प्रदेशमा गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचारको अभाव रहेको बताउँदै उनले निजी क्षेत्रबाट गरिएको यस प्रकारका कामको प्रशंसा गरे। अध्यक्ष यादवले विगतमा पनि मिथिला क्षेत्र शिक्षा र स्वास्थ्यको ‘हब’ रहेको चर्चा गर्दै फेरि पनि शिक्षा र स्वास्थ्यको हबका रूपमा मिथिला क्षेत्रको विकास गरिनुपर्ने आवश्यकतामा जोड दिएका थिए।
समतामूलक समाजको निर्माणका लागि देशमा रहेको गरिबी, बेरोजगारी अन्त्य हुनुपर्ने र त्यसका लागि आर्थिक विकास र समृद्धिका लागि दलहरूले मिलेर काम गर्नुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।