काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पुर्याई नेपाली नागरिकहरुलाई अलपत्र बनाउने बैदेशिक रोजगार ब्याबसायीहरुलाई सरकारले कारबाही गर्ने बताएका छन्।
बिहीबार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भइ फर्केकाहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले आकर्षक रोजगारीको प्रलोभन देखाई विदेशमा अलपत्र बनाउने दलाल र म्यानपावर कम्पनीहरुको फन्दाबाट जोगाउन सरकारले मन्त्रालयका उपसचिव तथा सीआईबीका प्रहरी नायब उपरीक्षक सम्मिलित मार्सल टिम गठन गरेको पनि जनाए।
मन्त्री श्रेष्ठले भिजिट भिसामा यूएई लगेर अलपत्र बनाउने दलालहरुलाई क्षमासमेत दिन नमिल्ने भन्दै सरकारले दलालहरुलाई खोजी खोजी कारबाही गर्ने बताए।
मन्त्री श्रेष्ठले विदेश जाने नेपालीहरुले पनि एकपटक कम्पनी र कामको बारेमा बुझेर जानुपर्ने सुझाव दिए। उनले आउँदो आइतबारदेखि मन्त्रालयमा २४सै घण्टा सेवा उपलब्ध हुनेगरी गुनासो सेन्टर स्थापना हुने बताए।
पीडितहरुले एक महिनासम्म काम लगाइदिने आशा गरेर बसेपनि काम नपाएपछि नेपाल सरकारलाई गुहारेको बताए। आकर्षक पारिश्रमिक हुन्छ भन्ने आशाले भिजिट भिसामा यूएई गएपनि दलालहरुले कुनै रोजगारी नदिएको उनीहरुको गुनासो छ।
पीडितहरुले भिजिट भिसामा जानु आफ्नो गल्ती भएपनि गएपछि बेरोजगारी बनेर काम नपाइनुले थप समस्या सिर्जना भएको बताए। पीडितहरुले त्यहाँ रहेको दुतावासले कुनैपनि सहयोग नगरेको गुनासो गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।