काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
महानगरीय प्रहरी गण नम्बर २, मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (केन्द्रीय खेलकुद समिति)मा कार्यरत सई खड्काको आईए (प्रविणता प्रमाणपत्र तह) को शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजुरी परेको थियो।
उनले माध्यामिक शिक्षा परिषद् बाराणशी, उत्तरप्रदेश भारतबाट जारी भएको शैक्षिक योग्यता (आईएको) को झुठा प्रमाणपत्र पेश गरी सोही प्रमाणपत्रका आधारमा २०५५ कात्तिक १ गते खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक (असई) पदमा नियुक्त भएको अख्तियारले जनाएको छ।
‘शैक्षिक योग्यता आईएको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले माध्यामिक शिक्षा परिषद् बाराणशी, उत्तरप्रदेशवाट जारी भएको शैक्षिक योग्यता (आईएको) को झुट्टा प्रमाणपत्र पेश गरी सोही प्रमाणपत्रका आधारमा २०५५ कात्तिक १ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भएको देखियो,’ अख्तियारको अभियोगपत्रमा भनिएको छ,‘प्रहरी सेवामा निरन्तर बहाल रही २०५९ पुस १४ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भई नेपाल सरकारलाई हानिनोक्सानी पुर्याएको देखियो।’
यसरी उनले नेपाल सरकारलाई हानिनोक्सानी पुर्याई आफूसमेतलाई लाभ हुने बदनियत राखी भ्रष्टाचारजन्य काम गरेको अख्तियारले जनाएको छ। खड्कालाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम दण्ड सजाय हुन मागदाबी गरिएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।