काठमाडौं– प्रतिनिधि सभामा एक सिट मात्र रहेको राष्ट्रिय जनमोर्चाले संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा पनि प्रवेश पाएको छ। बुधबार भएको निर्वाचनमा राजमोका एक उम्मेदवार विजयी भएका छन्।
सत्तारुढ दलको गठबन्धनमा रहेको जनमोर्चाका तर्फबाट प्रतिनिधि सभामा दुर्गा पौडेल सांसद छन्। २०७४ सालको निर्वाचनमा एमाले–मावादीसँगको गठबन्धनबाट पौडेल प्युठानबाट प्रत्यक्षतर्फ निर्वाचित भएकी थिइन्।
बुधबार भएको राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट जनमोर्चाका तुलप्रसाद बिक निर्वाचित भएका छन्। यससँगै संघीय संसद्मा राजमोका दुई सांसद हुने भएका छन्।
बिकसँगै राष्ट्रिय सभामा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा र नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे विजयी भए।उनीहरुले एमालेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन्।
प्रदेश सभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए।
राष्ट्रिय सभा स्थायी सदन हो। अहिले निर्वाचित सांसद ६ वर्षका लागि कायम हुनेछ्न्। पहिलो पटकका लागि यसअघि गोलाप्रथाबाट समय निर्धारण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।