काठमाडौं- सर्वोच्च अदालतले स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको हकमा नीतिगत ,कानुनी र व्यवस्थापकीय प्रवन्ध मिलाउन सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।
संघीयता कार्यान्वयनको विशेष संवैधानिक परिस्थितिको सन्दर्भमा कर्मचारीहरु प्रदेश र स्थानीय तहमा समायोजन भै गएको देखिएको, उनीहरुको हकमा हालसम्म पनि निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० नै सेवा सम्बन्धी मुख्य कानुन रहेको र संघीय निजामती सेवा ऐन तथा प्रदेश निजामती सेवा ऐनहरु जारी भै नसकेको अवस्था समेतलाई दृष्टिगत गरी सर्वोच्चले सरकारको नाममा यस्तो आदेश जारी गरेको हो। न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले बुधबार यस्तो आदेश गरेको हो।
सर्वोच्चले कार्यानुभव प्राप्त गर्न पाउने अवसरको उपलब्धता, अभिलेख व्यवस्थापन तथा समायोजनका सम्बन्धमा देखापरेका गुनासोको सम्बोधन लगायत सकारात्मक उत्प्रेरणाका लागि आवश्यक काम गर्न सरकारको नाममा आदेश जारी गरेको हो।
समायोजित कर्मचारीहरुको सेवाका सर्त र सुविधाको थप सुदृढिकरण, समायोजित भै प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरुको हकमा फराकिलो वृत्ति विकासको अवसरको सुनिश्चितता, वर्गिकृत भौगोलिक क्षेत्रको कार्यानुभव प्राप्त गर्न पाउने अवसरको उपलब्धता, अभिलेख व्यवस्थापन तथा समायोजनका सम्बन्धमा देखापरेका गुनासोको सम्बोधन लगायत सकारात्मक उत्प्रेरणा दिन पनि सर्वोच्चले आदेशमा भनेको छ।
कर्मचारी समायोजन ऐन, २०७५ जारी भएकोमा रिट निवेदनमा उक्त ऐन संविधान विपरित रहेको भनी जिकिर लिएको अवस्था समेत नदेखिएको साथै, संघ अन्तर्गतको दरबन्दी लुकाई निवेदकहरुलाई प्रदेश र स्थानीय तहमा समायोजन गरेको भन्ने निवेदन दावीका सन्दर्भमा हेर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले लोक सेवा आयोगलाई लोक सेवा आयोग नियमावली, २०६७ को नियम ३ बमोजिम विभिन्न मितिमा पठाएको मागको आकृति फाराममा उल्लिखित पदसंख्यालाई निजामती सेवा नियमावली, २०५० को नियम १३ का सन्दर्भमा अन्यथा भन्न मिल्ने नल्मिल्ने आदेशमा उल्लेख छ।
निवेदकहरुलाई समायोजन ऐन, २०७५ को ब्यवस्था विपरित समायोजन गरिएको भन्न सकिने अवस्था नभएकाले निवेदन माग बमोजिमको आदेश जारी गर्नुपर्ने अवस्था विद्यमान नदेखिएको आखेशमा उल्लेख छ । सर्वोच्चले उनीहरुका रिट निवेदन खारेज हुने ठहर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।