काठमाडौं– लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन्।
उनीहरुले एमालेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरे। मतदानमा प्रदेश सभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए।
आयोगले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकेको थियो।
१९ पदका लागि सातै प्रदेशमा भएको मतदानमा ४३ जना प्रतिस्पर्धी थिए। सत्ता गठबन्धनले साझा उम्मेदवार उठाएका थिए। एमाले र लोकतान्त्रिक समाजवादीले प्रदेश २ मा गठबन्धन गरेका थिए। अन्यत्र एमाले एक्लै उभिएको छ।
२०७४ सालमा भएको निर्वाचनबाट निर्वाचित सांसदहरुमध्ये २० जनाको कार्यकाल ४ वर्षे कायम भएको थियो। तीमध्ये १९ जनाको स्थान पूर्तिका लागि आज मतदान भएको हो। एक जना भने राष्ट्रपतिले मनोनित गर्नेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।