काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मरिससविरूद्धको दुई मैत्रीपूर्ण खेलमा नतिजाभन्दा पनि राम्रो प्रदर्शनको अपेक्षा राखेको बताएका छन्।
बुधबार मरिससविरूद्व मैत्रीपूर्ण खेल खेल्ने दुई फरक टोलीको घोषणा गर्दै उनले उक्त कुरा बताएका हुन्।
नेपाल र मरिससबीच शनिबार र मंगलबार दुई मैत्रीपूर्ण खेल हुँदैछ। खेल दिउँसो ४:४५ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। त्यसका लागि मरिससको टोली सोमबार काठमाडौं आइसकेको छ।
‘खेलाडीलाई भविष्यमा अन्तर्राष्ट्रिय खेलका लागि तयार गर्नु छ। यो खेलाडीमा अन्तर्राष्ट्रिय खेलको अनुभव थप्ने अवसर पनि हो। त्यसैले म खेलाडीले अन्तर्राष्ट्रिय खेलको अनुभव बोकेको हेर्न चाहन्छु। नतिजाभन्दा पनि राम्रो प्रदर्शनको अपेक्षा गरिरहेको छु,’ अल्मुताइरीले भने।
प्रशिक्षक अलमुताइरीले प्रारम्भिक छनोटमा समावेश गरेका ३४ खेलाडीलाई नै दुई खेलका लागि प्रयोग गर्ने छन्।
उनले जारी सहिद स्मारक ए डिभिजन लिगमा गरेको प्रदर्शनलाई आधार मान्दै गोलरक्षकद्वय टिकेन्द्र थापा र शत्रुघन चौधरी, डिफेन्डर नविन गुरुङ, मिडफिल्डर आकाशबुढा मगर, कृतिश रत्न छुन्जु, सुदीप गुरुङ तथा फरवार्ड सुशील राईलाई पहिलो पटक टोलीमा छनोट गरेका थिए।
यस्तै, आशिष राई, विमल घर्ती मगर, प्रशान्त अवस्थी र जगजित श्रेष्ठ पनि टोलीमा समेटिएका छन्। अन्तिम समयमा प्रशान्तले प्रारम्भिक टोलीमा स्थान बनाएका थिए।
यद्यपि, आयुष घलान, कमल थापा र दीनेश हेन्जन भने सुरुवाती टोलीमा परेपनि चोटका कारण बाहिरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।