काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानलाई सर्वोपरि राखेर कानुन अनुसार निर्वाचन गर्नुपर्ने बताएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले निर्वाचन कहिले गर्ने भन्ने विषयमा व्यापक छलफल भइरहेको बताए।
‘हाम्रो धारणा संविधानलाई सर्वोपरि राखेर कानुन अनुरुप नै चुनाव सम्पन्न हुनुपर्छ। एकै पटक तीनै तहको चुनाव हुनसक्यो भने राम्रो हुन्छ,’ उनले भने। अध्यक्ष नेपालले एउटा चुनाव गर्दा झन्डै पाँच अर्ब खर्च हुने बताए। ‘यसभन्दा अघि पाँच चरणमा चुनाव भएको थियो। त्यतिबेला झन्डै २५ अर्ब खर्च भएको थियो। यदि एउटै चरणमा गर्ने हो भने पाँच देखि दश अर्बमा सम्पन्न हुनसक्छ। उम्मेदवारको पनि खर्च कम हुन्छ। त्यसका निम्ति हामीले छलफल गरिरहेका छौं,’ उनले भने।
राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको उपस्थितिले तरंग पैदा गरेको उनको दाबी थियो। ‘अहिले हामी पाँच दलीय गठबन्धनमा छौं। गठबन्धनमा रहेका हामी सबै दलहरु मिलेर राष्ट्रिय सभा निर्वाचनमा १९ जना उम्मेदवार खडा गरेका छौं। आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ,’ उनले भने, ‘हामीलाई आशा छ। हाम्रा सबै उम्मेदवार विजय हुनेछन्। त्यो परिणामले पनि एउटा तरंग पैदा गर्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।