फाइल तस्बिर
काठमाडौं- नेपाली कांग्रेसको डा शेखर कोइरालापक्षले पार्टीभन्दा माथि उच्चस्तरीय संयन्त्र नभएकाले महत्त्वपूर्ण निर्णय पार्टीमा सल्लाह गरेर हुनुपर्नेमा जोड दिएको छ।
उक्त पक्षका शीर्ष तहका सीमित नेताहरुको 'भर्चुअल' छलफलले स्थानीय तहको निर्वाचन सार्न नहुने निष्कर्ष निकालेको छ। स्थानीय तहका पदाधिकारी काम चलाउ हुन नसक्ने भएकाले समयमा स्थानीय तहको निर्वाचनको माग गरिएको छ।
'स्थानीय निर्वाचनका लागि संविधानको अक्षरको व्याख्या गरेर मात्रै हुँदैन। त्यसको भावनाको पनि व्याख्या गर्नुपर्छ,' बैठकमा सहभागी नेता अर्जुनरसिंह केसीले भने, 'संघ र प्रदेश सरकारको काम चलाउको व्यवस्था छ। संवैधानिक महत्त्व दिएर काम चलाउको रूपमा स्थानीय तहमा निर्वाचितहरु रहने व्यवस्था छैन।' स्थानीय तहमा निर्वाचितको निरन्तरता टुट्न नदिनका लागि नै दुई महिनाअघि निर्वाचनको व्यवस्था भएको उनले बताए।
सत्तारूढ दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय समितिको क्षेत्राधिकारभित्र पनि बैठकमा कुरा उठेको थियो। पार्टीभित्र छलफल गरेर लिनुपर्ने निर्णयलाई उच्चस्तरीय संयन्त्रमार्फत् गरिए मान्य नहुने केसीले बताए।
नेता केसीले भने, 'पार्टीभित्र एकपटक पनि छलफल नगरी उच्चस्तरीय संयन्त्रले निर्णय गरिएको जुन तरिकाले भनिएको छ। त्यो पार्टीको अपमान पनि हो।'
उक्त पक्षले केन्द्रीय समितिको बैठक बोलाएर निर्वाचन मितिका बारेमा छलफल गर्न माग गरिएको छ। पार्टी संस्थागत सञ्चालन नभएको र भ्रातृ संस्था नेतृत्वविहीन भएका विषयमासमेत छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।