काठमाडौं- साविक विजेता संकटा क्लब पोखरामा जारी २०औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिएको छ।
पोखरा रंगशालामा सोमबार भएको खेलमा मछिन्द्र फुटबल क्लबसँग ४-१ गोल अन्तरले पराजित हुँदै संकटा प्रतियोगिताबाट बाहिरिएको हो। मछिन्द्र भने पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ।
मछिन्द्रलाई जित दिलाउन मेसुके ओलोमोउले दुई गोल गरे। यस्तै, उत्सव राई र अविशेक गुरुङले एक एक गोल गरे। संकटाका गणेश हमालले एक गोल फर्काए।
१२औं मिनेटमा उत्सवले एकल प्रयासमा पेनाल्टी क्षेत्र भन्दा बाहिरबाट गरेको प्रहारले गोल पोष्टको दिशा लिँदा मछिन्द्रले सुरुआती अग्रता लिएको थियो। ४७औं मिनेटमा मेसुकेले गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाए। अविशेक रिजालको क्रसमा बल नियन्त्रणमा लिँदै मेसुकेले सहजै गोल गरे।
तर, खेलको ६३औं मिनेटमा गणेशले गोल गर्दै संकटालाई २-१ को स्थितिमा ल्याए। अमित तामाङको कर्नरमा निरज बस्नेतको हेडर क्रसमा गणेशले हेडमार्फत् गोल गर्दै खेलमा फर्क्याउने संकेत देखाएका थिए।
८४औं मिनेटमा अविशेकले गोल गरेपछि मछिन्द्रले ३-१ को अग्रता बनायो। ओमोलोजा करिमको फ्रिकिक संकटाका गोलकिपर राजाबाबु थापाले बचाउने कोशिस गर्दा रिबाउन्डमा अविशेकले गोल गरे।
त्यसपछि ८६औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ४-१ को सहज जित दिलाए। उनले नाथनियलको पासमा गोल गरेका हुन्।
अब मछिन्द्रले सेमिफाइनलमा एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।