काठमाडौं– राष्ट्रिय सभा सदस्यका लागि माघ १२ गते हुने निर्वाचनका लागि मौन अवधि सुरु भएको छ ।
बुधबार हुने निर्वाचनको लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । आयोगले मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत नमाग्न आग्रह गरेको छ।
आयोगले आइतबार विज्ञप्ति जारी गर्दै मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउन भनिएको छ भने एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने जनाइएको छ।
आयोगले मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा आचरणहरु पालना गर्न/गराउन अनुरोध गरेको छ।
यसैबीच उक्त निर्वाचनका लागि निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा मतदान गर्न सकिने छ।
राष्ट्रिय सभामा सदस्यमा रिक्त हुन लागेको १९ पदमा १२ गते निर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।