काठमाडौ– स्पेनिस ला लिगा फुटबलअन्तर्गत रियल मड्रिड बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा शीर्ष स्थानको रियलले इल्चेसँग २–२ गोलको बराबरी खेलेको हो।
घरेलु मैदानमा दुई गोलले पछि परेको रियलले रोमाञ्चक बराबरी खेलेको हो। खेलको ३३औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्न नसक्दा रियल अग्रता बनाउन चुकेको थियो। बेन्जिमाले बाहिर प्रहार गरेका थिए।
खेलको ४२औं मिनेटमा लुकास बोएले गोल गर्दै इल्चेलाई १–० को अग्रता दिलाए। खेलको ७६औं मिनेटमा पेरे मिल्लाको गोलसँगै इल्चेलाई २–० को स्थितिमा पुग्यो।
खेलको ८२ औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै रियललाई २–१ को स्थितिमा ल्याए। त्यसपछि खेलको इन्जुरी समयमा इडर मिलिटाओले गोल गर्दै रियललाई हारबाट जोगाए।
बराबरीसँगै २२ खेलमा ५० अंक जोडेको रियल शीर्ष स्थानमा यथावत् छ। इल्चे २३ अंकका साथ १५औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।