काठमाडौं- दोस्रो स्थानमा रहेको लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसविरुद्ध सहज जित निकालेको छ।
आइतबार राति भएको खेलमा लिभरपुलले क्रिस्टललाई उसैको मैदानमा ३-१ गोल अन्तरले हराएको हो। लिभरपुलको जितमा भर्जिल भान डाइक, एलेक्स ओक्सालेड च्याम्बर्लिन र फाबिन्होले एक एक गोल गरे। यता, क्रिस्टलको लागि ओड्सोने इडवार्डले एक गोल फर्काए।
खेलको सुरुआतदेखि नै आक्रमक खेलेको लिभरपुलले पहिलो हाफमा दुई गोल गरेको थियो। खेलको आठौं मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। ३२औं मिनेटमा च्याम्बर्लिनले गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए।
५५औं मिनेटमा क्रिस्टलका इडवार्डले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए। तर, ८९ औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई ३-१ को सहज जित दिलाए।
जितसँगै लिभरपुलले २२ खेलमा ४८ अंक जोडेको छ। क्रिस्टल प्यालेस २४ अंक जोडेर १३औं स्थानमा रहेको छ।
आर्सनल र लेस्टर सिट बराबरीमा रोकियो
आइतबार राति नै भएको अर्को खेलमा आर्सनलले रेलिगेसन जोनमा रहेको बर्नलीसँग गोलरहित बराबरी खेलेको छ।
घरेलु मैदानमा यस बराबरीसँगै आर्सनलले २१ खेलमा ३६ अंक जोडेको छ। आर्सनल छैटौं स्थानमा रहेको छ। १२ अंक जोडेको बर्नली पुछारमा रहेको छ।
अर्को खेलमा लेस्टर सिटीले ब्राइटनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको छ। ४६औं मिनेटमा पिस्टन डाकाले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए। तर,८२औं मिनेटमा ड्यानी वेल्बेकले गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा ल्याएका थिए।
लेस्टर २० खेलमा २६ अंक जोडेर दशौँ स्थानमा रहेको छ। ब्राइटन ३० अंक जोडेर नवौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।