काठमाडौं- राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक सूचना निकाल्दै माघ १५ गतेदेखि हुने भनिएको लिग स्थगित भएको जनाएको हो।
यसअघि एन्फाको २२ पुसमा बसेको साधारण सभाले महिला राष्ट्रिय लिग यही माघ १५ गतेदेखि पायक पर्ने स्थानमा आयोजना गर्ने निर्णय गरेको थियो। तर, कोरोना महामारीले गर्दा नै लिग प्रभावित भएको हो।
‘माग १५ देखि सञ्चालन हुने भनिएको राष्ट्रिय महिला लिगका खेलहरु कोभिड-१९ को महामारीको कारण अर्को सूचना जारी नभएसम्मका लागि लिग स्थगित गरिएको छ,’ एन्फाले सूचनामा भनेको छ।
यसपटक एन्फाले ८ टोली सहभागी राष्ट्रिय महिला लिगलाई विराटनगर रंगशालामा गर्ने तयारी गरेको थियो। तर, कोरोना संक्रमण बढ्दै जाँदा लिगदेखि क्लबको तयारीसमेत प्रभावित भएको छ।
लिगमा गत वर्ष प्रतिस्पर्धा गरेका विभागीय टोलीहरु एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लबसहित विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र यसपटक छनोट भएका धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाले प्रतिस्पर्धा गर्ने छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।