काठमाडौं- मनाङ मर्स्याङ्दी क्लव २०औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा आइतबार भएको क्वाटरफाइनलमा मनाङले नेपाल पुलिस क्लवलाई २-० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। मनाङको जितमा नाइजेरियन फरवार्ड ओलावाले आफिजले र रूपेश केसीले एक/एक गोल गरे।
पहिलो हाफ गोलरहित रहेको खेलमा मनाङले दुवै गोल दोस्रो हाफमा गरेको थियो।
६४औं मिनेटमा रुपेश केसीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाए। हेमन्त श्रेष्ठको ब्याक पासलाई अजित भण्डारीले पेनाल्टी बक्समा क्लियर गर्न नसकेको बलमा आफिजले दिएको क्रसलाई रुपेशले सहजै गोल गरे।
८८औं मिनेटमा ओलावाले अफिजले गोल गर्दै मनाङको जित पक्का गरे। भोला सिलवालबाट बल खोस्दै मैदानको मध्यभागबाट एक्लै बल अघि बढाँउदै उनले गरेको प्रहारले जाली चुमेको थियो।
मनाङले अब सेमिफाइनलमा मंगलबार हुने त्रिभुवन आर्मी फुटबल क्लव र थ्रीस्टार क्लवबीचको विजेतासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।