काठमाडौं– दुई मैत्रीपूर्ण खेलका लागि मरिससको राष्ट्रिय फुटबल टोली सोमबार काठमाडौं आइपुग्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरका अनुसार मरिससको टोली सोमबार बिहान ११:१५ बजे काठमाडौं ओर्लने छन्।
नेपाली राष्ट्रिय टोलीसँग मरिसस माघ १५ र माघ १८ दुई मैत्रीपूर्ण खेल खेल्दै छ। तर, उक्त दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन्छ या एक खेल पोखरामा हुन्छ भन्नेबारे एन्फाले आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
नेपाली टोली अहिले एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षण गरिरहेको छ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले केही दिनमा नै अन्तिम टोली घोषणा गर्ने छन्। माल्दिभ्समा गत असोजमा भएको साफ च्याम्पियनसिपको तयारीको लागि नेपालले घरेलु मैदानमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो। त्यसबेला नेपालले १ बराबरी र १ हार बेहोरेको थियोे।
उक्त खेल ५० प्रतिशत दर्शकको उपस्थितिमा खेलाइएको थियोे । तर, मरिसससँगको खेलमा दर्शकलाई राखेर खेल गराउने या दर्शकविना गराउने भन्नेबारे छलफल भइरहेको महासचिव तुलाधरले जानकारी दिए। ‘कोरोना महामारी बढेको कारण पूर्णरूपमा दर्शक राखेर खेल गराउन सक्ने स्थिति छैन। तर, एक तिहाई दर्शक राख्ने सम्भावनाबारे छलफल भइरहेको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।