काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले माघ तेस्रो साताबाट गर्ने तयारी गरेको राष्ट्रिय महिला लिग निर्धारित समयमा नहुने भएको छ। देशभर कोरोना संक्रमित बढ्दै गएपछि लिग तोकिएकै मितिमा नहुने भएको हो।
एन्फा महासचिव इन्द्रमान तुलाधरले यस बारेमा सहभागी टिमलाई चिठी पठाएर जानकारी दिने बताए।
‘एन्फाले काठमाडौंबाहिर महिला लिग गर्ने तयारी गरेको थियो। तर, कोरोना संक्रमण बढेपछि टोलीलाई बाहिर लगेर खेलाउन कठिन बनेको छ। त्यसैकारण महिला राष्ट्रिय लिग तोकिएको मितिमा हुँदैन। अब कोरोनाको अवस्था हेरेर उपयुक्त मितिमा गर्नेछौं,’ महासचिव तुलाधरले नेपाल लाइभलाई भने।
यसअघि एन्फाको २२ पुसमा बसेको साधारण सभाले महिला राष्ट्रिय लिग यही माघ १५ गतेदेखि पायक पर्ने स्थानमा आयोजना गर्ने निर्णय गरेको थियो। तर, कोरोना महामारीले गर्दा नै लिग प्रभावित हुने देखिएको महासचिव तुलाधरले बताए।
‘यो लिग तत्कालका लागि स्थगित छ। अब कहिले सुरु हुन्छ कोरोनाको अवस्था हेरेर नै निर्णय हुनेछ,’ उनले भने।
यसपटक एन्फाले ८ टोली सहभागी राष्ट्रिय महिला लिगलाई विराटनगर रंगशालामा गर्ने तयारी गरेको थियो। तर, कोरोना संक्रमण बढ्दै जाँदा लिगदेखि क्लबको तयारीसमेत प्रभावित भएको छ।
लिगमा गत वर्ष प्रतिस्पर्धा गरेका विभागीय टोलीहरु एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लबसहित विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र यसपटक छनोट भएका धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाले प्रतिस्पर्धा गर्ने छन्।
यस्तै, कोरोनाकै कारणले फागुनमा आयोजना हुने भनिएको बी डिभिजन लिग पनि अनिश्चित भएको छ।
‘ए डिभिजन सकिएपछि बी डिभिजन गर्ने, त्यसपछि सी डिभिजन गर्ने योजना थियो। तर, अहिलेको महामारीले एन्फाको क्यालेन्डरलाई नै प्रभावित पार्ने देखिएको छ,’ तुलाधरले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।