काठमाडौं– निर्वाचन आयोगले राप्रपाको विधानबाट राजसंस्था र हिन्दूराष्ट्र हटाउन भनेपछि राप्रपाले पदाधिकारी बैठक बोलाएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलले निर्वाचन आयोगले संविधानको भावना र मर्मविपरीत काम गरेको प्रारम्भिक टिप्पणी गरेका छन्। राप्रपाले पदाधिकारी बैठकपछि आयोगलाई लिखित जवाफ पठाउने भएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने आफूहरू संविधान र कानुनले नचिन्ने काम गर्न नसक्ने बताउँछन्। राप्रपालाई यस विषयमा पहिले पनि भनिएको स्मरण गर्दै थपलियाले भने, 'संविधानको परिधिभित्र रहेर गर्न पाउने कुरा पाइन्छ। तर, आयोगमा पेश गर्ने कागजातमा संविधान र कानुनले नचिनेका विषय राखेर त हुँदैन। राप्रपालाई पनि पहिले नै भनेको हो। उनीहरुले संवैधानिक राजतन्त्र र हिन्दूराज्य कायम गर्नु हाम्रो उद्देश्य हो भनेर ल्याए। संवैधानिक राजतन्त्र र हिन्दूराज्य कायम रहने उद्देश्य रहेको पार्टी दर्ता हुन्छ कि हुँदैन, संविधानमा कतै उल्लेख छैन।'
उनले आयोगले राप्रपालाई मात्र नभएर सबै पार्टीलाई विधानमा भएका कमजोरी सुधारेर आउन भनेको थपलिया बताउँछन्। उनले केही समय पहिले माओवादीलाई पनि यस्तै पत्र लेखिएको स्मरण गरे।
'हिजो–अस्ति पनि अरुले पनि लिएर आए। कसैले संघात्मक प्रणाली खारेज गरि एकात्मक राज्यव्यवस्था कायम गर्ने भनेर लिएर आए। स्वराज स्थापना गर्ने, आ–आफ्नो राज्य आफैं चलाउने भनेर पनि लिएर आए। तर, हामीले मानेनौं', थपिलयाले भने, 'अहिले राप्रपाको पनि त्यही हो। माओवादीको चाहिँ वर्ग संघर्षको माध्यमबाट साम्यवाद स्थापना गर्ने भनेको थियो। वर्ग संघर्ष गर्नका लागि अहिलेको संविधानले दिन्छ कि दिँदैन? साम्यवाद ल्याउन दिन्छ किँ दिँदैन? साम्यवादको परिभाषामा बहुदल त हुँदैन। संविधानले बहुदलीय प्रतिस्पर्धा लेखेको छ। साम्यवादको परिभाषामा शासकविहीन लगायतका कुरा लेखेका छ। यो संविधानले स्वीकार गर्छ कि गर्दैन भनेर हामीहरुले उनीहरुलाई भन्यौं।'
उनले यस्ता शब्दहरूले दलले नै विधानबाट झिक्नुपर्ने बताए। नभए आयोगले झिक्ने उनको भनाइ छ। अदालतले व्याखा गरेर पठाए आफूहरू त्यसमा सहमत हुने उनले बताए।
‘त्यसैले यी शब्द झिक्नुस् तपाईंहरुले झिक्नु हुन्न भने हामी झिक्दिन्छौं। अदालत गएर व्याख्या गरेर ल्याउनुस्। त्यसो भए भैहाल्यो भनेर हामीले भनेका हौं। अदालतले व्याख्या गरेर आयो भने हामी दस्तखत गरिदिन्छौं। आफ्नो कार्यक्रम, घोषणा पत्रमा गर्नुस् तर हामीले दस्तखत गर्ने कागजमा त त्यसो हुँदैन‘, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।