काठमाडौं– स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले रोमाञ्चक जित निकालेको छ। दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै एट्लेटिको मड्रिडले भ्यालेन्सियालाई ३–२ गोलअन्तरले पराजित गरेको हो। इन्ज्युरी समयको दुई मिनेटको अन्तरमा दुई गोल भएपछि एट्लेटिकोले जित हात पारेको हो।
वान्डा मेट्रोपोलिटानोमा शनिबार राति सम्पन्न खेलमा एट्लेटिकोको जितमा म्याथिअस कुन्हा, एन्जल कोरेआ र मारियो हर्माेसोले गोल गरे भने भ्योलन्सियाका युुनुस मुसाह र ह्युगो डुरोले गोल गरेका थिए।
घरेलु टोली एट्लेटिको पहिलो हाफमा २–० ले पछि परेको थियो। खेलको २५औं मिनेटमा युनुस मुसाहले गोन्कालो गुइडेसको पासमा गोल गर्दै भ्यालेन्सियालाई १–० ले अघि बढाए। ४४औं मिनेटमा ह्युगो डुरोले टोनी लाटोको पासमा गोल गर्दै भ्यालेन्सियाको अग्रता दोब्बर बनाएका थिए।
खेलको ६४औं मिनेटमा म्याथिअस कुन्हाले यान्निक कारास्कोको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा एन्जल कोरेआले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। इन्ज्युरी समयको तेस्रो मिनेटमा मारियो हर्माेसोले म्याथिअस कुन्हाको पासमा गोल गर्दै एट्लेटिकोलाई रोमाञ्चक पुनरागमन जित दिलाए।
जितसँगै २१ खेलबाट ३६ अंकका साथ एट्लेटिको चौथो स्थानमा यथावत रहेको छ। पराजित भ्यालेन्सिया २२ खेलबाट २९ अंक जोडेर नवौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।