काठमाडौं– विवादास्पद अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्। मन्त्री यादवले पदीय मर्यादा विपरीत हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै महामन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउवासामु तीन विकल्प प्रस्तुत गरेका छन्।
कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेका महामन्त्री शर्माले ‘मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति उपचारः ३ विकल्प!’ भन्दै सामाजिक सञ्जालमार्फत पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्ने सुझाव दिएका हुन्।
शर्माले तीन वटा सुझाव दिँदै यादवलाई राजीनामा दिन आग्रह समेत गरेका छन्। शर्माले भनेका छन्,‘ स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमायाचना वा सम्बन्धित दलद्वारा पहलकदमि र राजीनामा वा पदिय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्छ।’
यस्तै शर्माले ३ उपचारका पछिल्तिर ३ कारणसमेत औंल्याएका छन्। राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवारी हुनुपर्ने उनले बताएका छन्।
मन्त्री यादवले बुधबार रौतहट जिल्ला सदरमुकाममा आयोजित सार्वजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको ज्यान लिने धम्की दिएपछि उनको चर्को आलोचना हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।