काठमाडौं- हिमालयन शेर्पा क्लबलाई ‘सडन डेथ’मा हराउँदै नेपाल पुलिस क्लब पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार पोखरा रंगशालामा भएको रोमान्चक खेल निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको अतिरिक्त समयमा थप गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।
पेनाल्टीमा पुलिसका तीर्थराना मगर, निरकुमार राई, सुमन सुवेदी र भोला सिलवालले गोल गरे। पुलिसका कपिल ढकालको प्रहार बाहिरिएको थियो।
हिमालयनका त्रिदेव गुरुङ, आशिष गुरुङ, पिस्तोल मुतुम्बा र विश्वास श्रेष्ठले गोल गरे। उल्रिच सीवेको प्रहार पोलमा लाग्न पुगेको थियो।
पेनाल्टीमा ४-४ को बराबरी भएपछि खेल ‘सडन डेथ’मा पुगेको थियो। ‘सडन डेथ’मा पुलिसका बुद्ध लामा र राम वाजीले गोल गरे।
यता, हिमालयनका जीवन गुरुङले गोल गर्दा पूर्ण गुरुङको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले बचाए।
पेनाल्टी अघि खेलको ५२औं मिनेटमा निरकुमार राईले तीर्थको पासमा गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए।
तर, ५९औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र पुलिसका डिफेन्डर सन्तोष हेमरनलाई लाग्दै फर्किएको बललाई नियन्त्रणमा लिँदै कप्तान विश्वास श्रेष्ठले गोल गरे। अब पुलिसले अन्तिम ८ मा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।