काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनेपछि गरेको उपलब्धिमा बेलायत र बंगलादेशमा गरेको भ्रमण तथा संयुक्त राष्ट्रसंघमा गरेको सम्बोधन जनतालाई सुनाएका छन्।
सरकारमा सहभागी भएको ६ महिना पूरा भएको अवसर पारेर शुक्रबार देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त कुरा सुनाएका हुन्। स्थानीय तहको निर्वाचन, ओमिक्रोन संक्रमणदेखि नेपाली क्षेत्र कालापानीमा सडक बिस्तारसम्मका विषयमा सरकारमाथि प्रश्न उठिरहेको समयमा उनले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्। ३ बजे गर्ने भनिएको सम्बोधन एक घन्टा ढिलो सुरु भएको थियो।
उनले सम्बोधनका क्रममा देशभित्र गरेको कामदेखि वैदेशिक नीति र कुटनीतिसम्मका कुरा सम्झे। उनले एक वर्षभित्र तीनै तहको निर्वाचन सरकारले गर्ने प्रतिवद्धता व्यक्त गरे, तर वैशाखमै स्थानीय निर्वाचन हुन्छ भनेर ठोकुवा गर्न भने सकेनन्।
त्यस्तै, उनले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणमा सरकारले काम गरिरहेको दाबी गरे। तर, प्रयाप्त खोप र कोरोना नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काम गर्न नसकेको स्वीकार गरेनन्।
त्यस्तै, उनले आफ्नो कार्यकालमा वैदेशिक सहयोग प्राप्त गरेको र अफगानिस्तानलाई सहयोग गरेको सुनाए। उनले अमेरिका राष्ट्रपति जो वाइडेनसँग संयुक्त राष्ट्रसंघको सम्बोधनका क्रममा भएको भेटदेखि बेलायत र बंगलादेशको भ्रमणलाई पनि समेटे।
तर, केही हप्ताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूभाग लिपुलेक र कालापानीमा सडक बिस्तार गर्ने भनेर दिएको अभिव्यक्तिको खण्डन गर्ने साहस भने गरेनन्।
नेपाली भूभागमा भारतीय पक्षले सार्वजनिक रुपमा सडक बिस्तार गर्ने योजना सुनाउँदा सरकारले हालसम्म कुनै कुटनीतिक नोट पठाउनेदेखि अन्य प्रयास गर्न सकेको छैन। सरकार र सत्ता गठबन्धनले आ–आफ्नो धारणा सार्वजनिक गरेपनि सरकारले ठोस पहल गर्न सकेको छैन।
प्रमुख प्रतिपक्षलगायत नागरिक समाजले पनि सरकारले भारतीय पक्षसँग बोल्न नसकेको भन्दै आलोचना गरिरहेको समयमा प्रधानमन्त्री देउवाले आफ्नो देशवासीलाई सम्बोधन गर्दा यी कुरा प्रष्ट पार्ने आशा व्यक्त गरिएको थियो।
नेपाली भूभागलाई भारतले पटकपटक विवादित दाबी गर्दै कैलास मानसरोबरसम्म पुग्न बाटो बिस्तार गरिरहेको छ। अघिल्लो पटक राजनीतिक नक्सा जारी गरेर नेपालको क्षेत्र आफ्नो दाबी गरेको भारतले चुच्चे नक्सा जारी गरेपछि यो विवाद वार्ताद्धारा समाधान खोजिने अभिव्यक्ति दिएको थियो।
तर, हालसम्म भारतीय पक्षले प्राथमिकता नदिँदा वार्ता प्ररम्भ हुन सकेको छैन। देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाको समर्थनमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।