काठमाडौं– नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने आज (शुक्रबार) राति नेपाल आइपुग्ने भएका छन्।
बिग बास लिग खेल्नका लागि अस्ट्रेलिया पुगेका सन्दीप बाँकी खेल छाडेर आज नेपाल फर्किन लागेका हुन्। उनको उक्त जानकारी समाजिक सञ्जालमार्फत् दिएका हुन्।सन्दीपले विमानस्थलको फोटो राखेर सामाजिक सञ्जाल इन्टाग्रामको स्टोरीमा राखेका छन्, होम कलिङ।
नेपाल क्रिकेट संघ (क्यान)ले यही फेब्रुअरीमा ओमानमा हुने आईसीसी टी२० विश्वकपको ग्लोबल छनोटका लागि सन्दीपको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेको छ।
नेपाली सिनियर टोलीले सन्दीपको कप्तानीमा पहिलोपटक खेल्न लागेको हो। यसअघि नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्दै आएका थिए। तर, क्यानसँगको विवादपछि उनलाई बर्खास्त गरिएको थियो।
नेपाली राष्ट्रिय टोलीले पुस १९ गतेबाट बन्द प्रशिक्षण सुरु गरिसकेको छ। तथापि, प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका कारण बीचमा प्रशिक्षण अवरुद्ध भएको थियो।
सुरुमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो। क्यानले माघ ६ गते अन्तिम १६ खेलाडीको नाम सार्वजनिक गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।