काठमाडौं– अक्टोबरदेखि सुरु हुने टी२० विश्वकपको साविकको विजेता अस्ट्रेलियाले पहिलो खेलमा साविक उपविजेता न्यूजिल्यान्डको सामना गर्ने भएको छ।
शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको प्रतियोगिताको तालिकाअनुसार २२ नोभेम्बरमा यी दुई भिड्ने भएका हुन्।
यस्तै, प्रतियोगिताको उद्घाटन खेलमा भने १६ अक्टोबरमा नामिबियाले श्रीलंकाको सामना गर्नेछ। यो खेल अष्ट्रेलियाको गिलोङस्थित कार्डिनिया पार्क स्टेडियममा हुनेछ। २३ अक्टोबरमा भने भारत र पाकिस्तानबीचको महाभिड्न्त हुनेछ।
प्रतियोगिताको पहिलो सेमिफाइनल ९ नोभेम्बरमा सिड्नीमा हुने तय भएको छ। १० नोभेम्बरमा एडेलेडमा दोस्रो सेमिफाइनल हुने आईसीसीले जनाएको छ।
सुपर १२ को ग्रुप ‘१’ मा अस्ट्रेलियासँगै न्यूजिल्यान्ड, इङ्ल्यान्ड र अफगानिस्तान छन्।
समूहमा पहिलो चरण पार गरेका समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताले स्थान बनाउनेछन्।
पहिलाे चरणकाे समूह ‘ए’ मा श्रीलंका र नामिबियासँगै ग्लाेबल क्वालिफायरबाट छनाेट भएका दुई टाेली रहनेछन्। त्यस्तै, समूह ‘बी’ मा वेस्ट इन्डिज र स्कटल्यान्डसँगै क्वालिफायरबाट छनाेट भएका दुई टाेलीबीच हुनेछन्।
त्यस्तै ग्रुप ‘२’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता रहनेछन्।
यता, सन् २०२२ मा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउन लागि नेपालले छनोट तरणमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ। ८ टिमको समूहमा उत्कृष्ट दुई भित्र पर्न सके मात्र नेपालले ८ वर्षपछि टी२० विश्वकप खेल्नेछ।
विश्वकप ग्लोबल छनोटका लागि नेपाल समूह ‘ए’ मा परेको छ। ओमानमा हुने प्रतियोगितामा नेपालले आयरल्यान्ड, ओमान, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएईसँग प्रतिस्पर्धा गर्ने छ।
विश्व छनोट आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुनेछ। मस्कटको ओमान क्रिकेट एकेडेमी मैदानमा हुने छनोटबाट शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।