काठमाडौं– रियल मड्रिड स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ। इल्चेलाई पराजित गर्दै रियल अन्तिम आठमा पुगेको हो। एक गोलले पछि परेको अवस्थामा सक्सिच्युट मिडफिल्डरद्वय इस्को र इडेन हाजार्डले गोल गरेपछि रियलले घरेलु टोली इल्चेमाथि अतिरिक्त समयमा २–१ को जितहात पारेको हो।
इल्चेविरुद्धको खेलमा प्रशिक्षक कार्लाे एन्सेलोटीले मुख्य फरवार्ड करिम बेन्जेमासहित पहिलो रोजाइका केही खेलाडीलाई विश्राम दिएका थिए।
रियलले दोस्रो हाफमा क्यासमिरो र लुका मोड्रिचसँगै इस्कोलाई प्रवेश गराउँदा अतिरिक्त समयमा हाजार्डलाई मैदान प्रवेश गराएको थियो।
बिहीबार राति भएको खेलको निर्धारित समयमा कुनै गोल निस्कन नसकेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो। १०२औं मिनेटमा कप्तान मार्सेलो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिँदा रियल समस्यामा परेको थियो। १०३औं मिनेटमा गोन्जालो भेर्डुले गोल गरेपछि रियल खेलमा १–० ले पछि परेको थियो।
खेलको १०८औं मिनेटमा इस्कोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। ७९औं मिनेटमा लुका जोभिकको स्थानमा मैदा छिरेका इस्कोले ९१औं मिनेटमा मैदान छिरेका ड्यानी सेवालोसको पासमा गोल गर्न सफल भएका थिए।
त्यसपछि ११५औं मिनेटमा अर्काे सब्सिच्युट मिडफिल्डर हाजार्डले गोल गर्दै रियललाई २–१ ले अघि बढाए। ९१औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान छिरेका हाजार्डले डेभिड अलाबाको पासमा गोल गरेका थिए।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा पेरे मिल्ला दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इल्चेपनि १० खेलाडीमा समेटिन पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।