काठमाडौं– बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ। साविक विजेता बार्सिलोना एथलेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३–२ ले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको हो।
सान मामेस बारिया बिल्वाओमा बिहीबार राति सम्पन्न खेलमा बिल्वाओका लागि इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे। बार्सिलोनाका फेरान टोरेस र पेड्रीले गोल गरेका थिए। खेलको दोस्रो मिनेटमै इकर मुनिएनको गोलबाट बिल्वाओले अग्रता लिएको थियो।
खेलको २०औं मिनेटमा टोरेसले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। उनले कप्तान सर्जियो बुस्क्वेट्सको पासमा क्लबका लागि डेब्यु गोल गरे। उनले बार्सिलोनाका लागि दोस्रो खेलमा गोल गरेका हुन्।
खेलको ८६औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्वाओलाई जिततर्फ अग्रसर गराए। तर, इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा पेड्रीले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
त्यसपछि अतिरिक्त समयमा लम्बिएको खेलको १०५औं मिनेटमा इकर मुनिएनले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई स्तब्ध पारे। त्यसपछि थप गोल निस्कन नसक्दा बिल्वाओ विजयी हुन सफल भयो ।
यो सिजन बार्सिलोना तीन उपाधिबाट वञ्चित बनिसकेको छ। गत डिसेम्वरमा बोका जुनियर्ससँग म्याराडोना कपको फाइनल गुमाएको बार्सिलोनाले यसै महिना रियल म्याड्रिडसँग पराजित हुँदै स्पेनिस सुपर कपको उपाधि पनि गुमाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।