काठमाडौं– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ। अहिले बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षा तथा हिमपात भइरहेको छ। त्यसैगरी, पश्चिम र पूर्वी तराई भेगमा हुस्सु लागेको महाशाखाको भनाइ छ।
आज (शुक्रबार) देशका अधिकांश पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।
आज राति देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्यतया बदली रहने महाशाखाको भनाइ छ। तराईका भू–भागमा भने सामान्यतया मौसम सफा रहनेछ।
देशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ। उच्चपहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।
देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।