काठमाडौं– आयोजक सहारा क्लब पोखरालाई पराजित गर्दै विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
पोखरास्थित पोखरा रंगशालामा बिहीबार भएको पहिलो खेलमा एपीएफले सहारालाई २–० ले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो। एपिएफको जितमा आभाष लामिछाने र प्रदीप लामाले गोल गरे।
खेलको १४औं मिनेटमा आभाषले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाए। अर्मान्ड विडोमको पासमा उनले साहराका दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे।
६०औं मिनेटमा प्रदीपले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारे। रवि थिङको क्रसलाई नियन्त्रणमा लिँदै दुई डिफेन्डर बीचबाट प्रदीपले पहिलो बार च्याप्दै गोल गरे।
त्यसपछि थप गोल निस्कन नसक्दा एपीएफ २-० ले विजयी हुन सफल भयो।
अब एपीएफले क्वाटरफाइनलमा अमेरिकाको भुटानिज युथ स्पोर्टस क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।