काठमाडौं– नेपालको प्रिमियम ह्विस्की यार्सागुम्बा जापानमा निर्यात भएको छ। एभरेष्ट हर्ब्स प्रालिले उत्पादन गरेको प्रिमियम मदिरा ब्राण्डलाई जापानको तोमोदाची हब कम्पनीले जापान निर्यात गरेको हो।
यार्सागुम्बासहित विभिन्न जडिबुटी मिश्रित यार्सागुम्बा ह्विस्की यसअघि अष्ट्रेलिया, चीन निर्यात भइसकेको छ। नेपालमा छोटो समयमा नै स्थापित यार्सागुम्बा विदेशी मदिरालाई विस्थापित गर्दै तारे होटलमा सर्भ हुने डोमेस्टिक ब्रान्डमा पर्ने कम्पनीको दाबी छ।
जापानमा पहिलो पटक नेपाली मदिरालाई लाइसेन्स लिएर निर्यात गरेको तोमोदाची हबका प्रबन्ध निर्देशक बिक्रम भण्डारीले बताए।
उनले नेपाल हिमालयको देश भएको र जापानीजलाई नेपालको हिमाल र यार्सागुम्बाको बारेमा थाहा भएका कारण पनि यो ब्राण्डलाई सहजै चिनाउन सजिलो भएको बताए।
‘यार्सागुम्बा अहिले जापानको टोकियो शहर आसपास मात्र उपलब्ध छ। हामीले जापानका मुख्य सहरका होटल, रिसोर्ट, क्लब, रेष्टुरेन्ट, बारलगायतमा यार्सागुम्बा पुर्याउने तयारी गरिरहेका छौं', भण्डारीले भने। अनलाइन अर्डर र सुपरमार्केटमा उपलब्ध गराउनका लागि पनि केही कम्पनीसँग कुराकानी भएको उनले बताए।
यार्सागुम्बालाई कम्पनीले वेभरेजको रुपमा प्रचार गर्दै आइरहेको छ। यार्सागुम्बामा ९ प्रकारका दुर्लभ जडिबुटी मिश्रण गरिएको कम्पनीको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।