काठमाडौं– जिल्ला प्रशासन कार्यालय भक्तपुरले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ। कार्यालयले सूचना प्रकाशित गर्दै संक्रमण जोखिम बढेकाले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो।
शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रजिअ रुद्रादेवी शर्माले जानकारी दिइन्। कोभिड–१९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन संक्रमण बढ्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी पनि कोभिड–१९ बाट सङ्क्रमित भई उपचार र आइसोलेशनमा बस्नु परेकाले प्रशासनले यस्तो निर्णय गरेको हो।
अत्यावश्यक सेवा लिन चाहने सेवाग्राहीलाई अनिर्वायरूपमा मास्क लगाएर, स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गरी साथमा खोप कार्ड वा मोबाइलमा कार्डको फोटो लिएर लिएर आउन आग्रह गरिएको छ।
‘जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्दै आएको शान्ति सुरक्षा, मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा अहिलेलाई स्थगन गरेका छौं,’ प्रजिअ शर्माले भनिन्, ‘कर्मचारी तथा सेवाग्राहीको नियमित र प्रत्यक्ष सम्पर्क हुने नागरिकता, नागरिकता प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी फाँटका सेवा अर्को सूचना जारी नभएसम्म स्थगन गरेका छौं।’
पूर्णरूपमा स्वास्थ्य मापदण्ड पालना गर्न, अनावश्यकरूपमा घर बाहिर ननिस्कन, अनिवार्य मास्क प्रयोग गर्न र भीडभाड नगर्नसमेत उनलेस बैमा आह्वान गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।