काठमाडौं– मदिरा सेवन गरेर बबण्डर गरेका नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयका सेनानी (मेजर) अशोकजंग शाहीलाई जंगी अड्डाले बर्खास्त गरेको छ।
सैनिक अदालतको निर्णयबमोजिम उनलाई सेवाबाट बर्खास्त गरिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए।
भाइटिकाको भोलिपल्ट राति ११ बजेतिर मेजर शाही प्रदेश ०१–००२६च ३४६१ नम्बरको गाडी लिएर कैलालीको चिसापानी बजार पुगेका थिए। चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावलसँग मेजर शाहीले विवाद सुरु गरेका थिए।
त्यसपछि शिक्षालयको गेटमा पुगेर ड्युटी बसिरहेका हुद्दा तीर्थबहादुर बडुवाललाई एसएलआरसहित गाडीमा राखेर मेजर शाही पुन चिसापानी बजार पुगेका थिए। मजेर शाही फर्किएर आएर पुनः बितण्डा मच्चाउन थालेको भन्दै स्थानीयले उनको गाडीसमेत तोडफोड गरेका थिए। त्यसपछि हुद्दाले बोकेको राइफलसमेत खोसेर मेजर शाहीले स्थानीयलाई ताकेक थिए।
मदिराले मातेका मजेर शाहीले बितण्डा मच्चाउन थालेपछि इलाका प्रहरी कार्यालय चिसापानीको टोली घटनास्थलपुगेर उनलाई नियन्त्रणमा लिएको थियो। आक्रोशित स्थानीयले आक्रमण गर्दा मेजर शाहीको टाउकोमा चोटसमेत लागेको थियो।
त्यसपछि उनीमाथि छानबिन गर्न सैनिक मुख्यालयले महासेनानीको नेतृत्वमा कोर्ट अफ इन्क्वाइरी गठन गरेको थियो। सैनिक अदालतले उनलाई एक महिना कैदसमेत गर्ने निर्णय सुनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।