काठमाडौं– नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयका सेनानी (मेजर) अशोकजंग शाहीमाथि छानबिन गर्न सैनिक मुख्यालयले 'कोर्ट अफ इन्क्वाइरी' गठन गरेको छ।
सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडलले महासेनानीको अध्यक्षतामा 'कोर्ट अफ इन्क्वाइरी' गठन गरिएको नेपाल लाइभलाई जानकारी दिए। 'कोर्ट अफ इन्क्वाइरी'ले भोलिबाट काम सुरु गर्ने प्रवक्ता पौडेलले बताए।
‘कोर्ट अफ इन्क्वाइरीमा रहेका सदस्यहरु विभिन्न ठाउँबाट आउनुपर्ने भएकाले भोलिबाट मात्रै छानबिन प्रक्रिया अघि बढ्छ’ प्रवक्ता पौडेलले भने।
भाइटिकाको भोलिपल्ट राति ११ बजेतिर मेजर शाही प्रदेश ०१–००२६च ३४६१ नम्बरको गाडी लिएर चिसापानी बजार पुगेका थिए। चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावलसँग मेजर शाहीले विवाद सुरु गरेका थिए।
त्यसपछि शिक्षालयको गेटमा पुगेर ड्युटी बसिरहेका हुद्दा तीर्थबहादुर बडुवालाई एसएलआरसहित गाडीमा राखेर मेजर शाही पुन चिसापानी बजार पुगेका थिए। मजेर शाही फर्किएर आएर पुन: बितण्डा मच्चाउन थालेको भन्दै स्थानीयले उनको गाडीसमेत तोडफोड गरेका थिए। त्यसपछि हुद्दाले बोकेको राइफलसमेत खोसेर मेजर शाहीले स्थानीयलाई ताकेको प्रहरी स्रोतले जनाएको छ।
मदिराले मातेका मजेर शाहीले बितण्डा मच्चाउन थालेपछि इलाका प्रहरी कार्यालय चिसापानीको टोली घटनास्थल पुगेर उनलाई नियन्त्रणमा लिएको थियो। आक्रोशित स्थानीयले आक्रमण गर्दा मेजर शाहीको टाउकामा चोटसमेत लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।