काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत टोटेनह्यामले लेस्टर सिटीलाई पराजित गरेको छ। बुधबार राति सम्पन्न खेलमा लेस्टर सिटीलाई ३–२ गोल अन्तरले हराउँदै टोटेनह्याम पाँचौं स्थानमा उक्लिएको हो।
२–१ गोलले पछि परेको अवस्था उल्ट्याउँदै टोटनह्यामले रोमाञ्चक जित निकालेको हो। टोटनह्यामका लागि स्टेभेन बर्गविन्जले इन्जुरी समयमा दुई गोल गरे।
खेलको २४औं मिनेटमा प्याटसन डाकाले लेस्टर सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। ३८ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनह्यामलाई पहिलो हाफमा बराबरीमा ल्याए।
खेलको ७६ औं मिनेटमा लेस्टरले खेलमा दोस्रो पटक अग्रता लियो। उसका लागि म्याडिसनले गोल गरेका थिए। निर्धारित समयसम्म २–१ ले पछि रहेको टोटेनह्यामले इन्जुरी समयमा थप दुई गोल गरेपछि रोमाञ्चक जित निकाल्यो।
जितसँगै १९ खेलबाट ३६ अंक जोडेको टोटेनह्याम पाँचौ स्थानमा उक्लिएको छ। पराजित लेस्टर समान १९ खेलबाटै २५ अंकका साथ १० औ स्थानमा झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।