काठमाडौं- रुपन्देही क्रिकेट संघको अध्यक्षमा व्यावसायी हरि थापा विजयी भएका छन्। बुधबार भैरहवामा सम्पन्न चौथो अधिवेशनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसर्वाधिक सफल स्पिन तथा अलराउन्डर शक्ति गौचनलाई पराजित गर्दै थापा विजयी भएका हुन्।
थापाले २४ मत अन्तरले गौचनलाई पराजित गरेका हुन्। थापाले ६४ र गौचनले ४० मत प्राप्त गरे। विजयी थापा नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल निकट मानिन्छन्।
त्यस्तै, उपाध्यक्षमा धिरज अधिकारी क्षेत्री निर्वाचित भएका छन्। अधिकारीले अर्का प्रत्याशित राजु खड्कालाई १६ मतले पराजित गरे। अधिकारीले ६० र राजुले ४४ मत प्राप्त गरेका थिए।
अन्तर्राष्ट्रिय अम्पायरसमेत रहेका सञ्जय गुरुङले सचिवमा दीपक शर्मा भुर्तेललाई २६ मतले पराजित गरे। उनले ६५ मत प्राप्त गर्दा युवा ओपनर कुशल भुर्तेलका बुवाले ३९ मत प्राप्त गरे।
कोषाध्यक्ष निरज प्रताप खाण ५३ मतका साथ विजयी भए। उनका प्रत्याशित दीपेन्द्र लाम्गादेले ४९ मत प्राप्त गरे।
सदस्यहरुमा संघको महिला सदस्यमा उमा अधिकारी निर्विरोध निर्वाचत भइन्। अन्य सदस्यहरु भरत थापा, विजयसिंह ज्ञवाली, पुनित पोखरेल, निराकार पन्त, शेषमणि चौधरी, प्रथम पराजुली, मनोज भण्डारी, उदयकुमार मल्लिक, कमल पाण्डे र श्रीराम नेपाली निर्वाचित भए।
रुपन्देही जिल्ला क्रिकेट संघमा कुल १ सय १० जना सदस्य थिए। जसमा १ सय ५ जना निर्वाचनमा सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।