काठमाडौं– कोरोना महामारीको जोखिम बढेपछि विशेष अदालतले पनि सेवामा कटौती गरेको छ। सर्वोच्च अदालतको फुलकोर्टले केही सेवा कटौती गर्ने निर्णय गरेको भोलिपल्ट बुधबार विशेष अदालतले पनि सेवामा संकुचन ल्याउने निर्णय गरेको हो।
अदालतमा कार्यरत केही कर्मचारी, केही सरकारी वकिल र कानुन व्यवसायीलाई कोरोना संक्रमण भएपछि आज बसेको पूर्ण बैठकले अत्यावश्यक बाहेकका सेवामा कटौती गरेको प्रवक्ता दीपेन्द्र अधिकारीले बताए।
विशेष अदालतले अब थुनुवा बाहेकका मुद्दा सुनुवाइ रोक्ने निर्णय गरेको छ। संक्रमणको जोखिम कम भएपछि मात्र सबै मुद्दामा सुनुवाइ थाल्ने विशेष अदालतले जनाएको छ।
विशेष अदालतका अनुसार थुनुवा भएका मुद्दाहरूको सुनुवाइ भर्चुअल माध्यमबाट हुने छ।
आरोपपत्र/अभियोगपत्र दर्ता, आरोपपत्र/अभियोगपत्र साथ उपस्थित गराइएका अभियुक्तको थुनछेक र म्याद थप पनि भर्चुअल माध्यमबाट नै हुने छ।
सेवा प्रवाह स्थगन भएका अवधिका मुद्दा तथा निवेदनहरूमा रहेका हदम्याद, म्याद तथा तारेख नगुज्रने बताइएको छ। विशेषले माघ १८ गतेसम्मका लागि सेवामा संकुचन ल्याएको हो।
यी हुन् स्थगित गरिएका सेवा :
–थुनुवा भएका मुद्दा बाहेकका अन्य मुद्दाको साप्ताहिक तथा दैनिक पेसी र सो को सुनुवाइ
–पेसी एवं साधारण तारिख
–साक्षीको बकपत्र
–हाजिर हुन आउने एवं वारेस अनुमति लगायतका निवेदन पेसी
–धरौटी फिर्ता र रोक्का फुकुवा सम्बन्धी सेवाहरू
–फैसला/आदेश/ कागजातहरूको प्रमाणित प्रतिलिपी सम्बन्धी सेवाहरू
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।