महोत्तरी– महोत्तरीको भंगाहा–४ रामनगरमा रुघाखोकीका बिरामी बढ्दै गएका छन्। सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ। घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्तीमा चिन्ता छाएको हो।
अहिले घरघरै रुघाखोकीका बिरामी बढेको स्थानीय इस्लाम राइनले बताए। बिरामी भएपछि पीसीआर परीक्षण नहुँदा कोरोना नै भन्ने अवस्था नरहेको सामाजिक कार्यकर्ता रामईश्वर ठाकुरले बताए। तर बिरामीको लक्षण भने कोरोना संक्रमणसँग मिल्दोजुल्दो रहेको उनको भनाइ छ।
बस्तीमा रुघाखोकीका बिरामी बढेपछि घरघरै पानी तताएर खान, तुलसीको पात, सिन्कौलीको पात, बेसार र अदुवा हालेर उमालिएको पानी खान स्वयंसेवी युवाले सल्लाह दिँदैछन्। ‘रुघाखोकी बढेसँगै मान्छेको मन आत्तिएको छ,’ भङ्गाहा–४ कै महिला स्वास्थ्य स्वयंसेविका दीपमाया श्रेष्ठले भनिन्,‘आत्मसंयम र उपचार भने गरिनुपर्छ।’ जिल्लामा अहिले यो बस्तीमात्र नभएर सबैतिर रुघाखोकीका बिरामी बढेका छन्।
जिल्लाका सबै भेगमा आमरुपमै रुघाखोकीका बिरामी बढेका जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी बताउँछन् । ‘चिसो मौसमकै बीच कोरोना संक्रमण बढेको हुँदा सचेतता त आवश्यक छ नै, आत्तिनुपर्ने अवस्था त छैन, तर स्वच्छ खानपिन र स्वच्छ आहारविहारमा सबैले ध्यान दिनैपर्छ,’ कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा भन्नुहुन्छ, ‘अहिले जिल्लाका सबै स्वास्थ्यचौकी र अस्पतालमा खोप दिइँदैछ, आमरूपमा खोप लिन सबैलाई प्रोत्साहित गरिनपर्छ।’ स्वास्थ्यसम्बन्धी जटिलता देखिए तत्काल स्वास्थ्य संस्थामा बिरामी पु¥याउनसमेत उनले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।