काठमाडौं– काठमाडौं महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ संक्रमितको संख्या बढिरहेको भन्दै त्यसका लागि आवश्यक तयारी गरेको जनाएको छ।
कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका निःशुल्क सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टिन स्थलहरु यस पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए। ‘हामीले त्यसका लागि गृहमन्त्री, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौं,’ मेयर शाक्यले भने, ‘हामीले नेपाली सेना र अस्पतालहरुलाई तयारी अवस्थामा रहन भनेका छौं। हामी पनि तयारी अवस्थामा छौँ । आवश्यक पर्यो भने तुरुन्तै निःशुल्क आइसोलेसन र क्वारेन्टिनहरु सञ्चालन गर्न सक्छौं।’
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसीसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्नसमेत शाक्यले आग्रह गरेका छन्। पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बेला सिसिएमसीले स्थानीय सरकारसँग सल्लाह र समन्वय गरे पनि अहिले नभएको उनको आरोप छ।
महानगरवासीलाई थप केही जटिल भयो भने कामपाको ३२ वटै वडामा सञ्चालित स्वास्थ्य क्लिनिक र स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ। संघीय सरकारको निर्देशन र मापदण्डअनुसार महानगरपालिका क्षेत्रभित्रका अग्रपंक्तिमा खटिएका, ज्येष्ठ नागरिकलगायतका लागि खोपको तेस्रो मात्रा पनि कामपाले व्यवस्थापन गरेकाले खोप लगाउन योग्य सबैलाई अपिल गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।