काठमाडौं– सरकारले हाललाई अत्यावश्यक बाहेकका राहदानी (पासपोर्ट) जारी नगर्ने भएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि राहदानी विभागले राहदानी वितरण स्थगित गरेको हो।
कोरोना संक्रमण बढ्दै गएको र विभागका कार्मचारीलाई पनि कोरोना संक्रमण भएपछि तत्काललाई अत्यावश्यक बाहेकका राहदानी वितरण स्थगित गरिएको विभागले जनाएको छ।
विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक अरू सेवा तत्कालका लागि स्थगित गरेको विभागले जनाएको छ। यसअघि दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरिएको पनि विभागको भनाइ छ।
विदेशमा उपचारका लागि जाने तथा अत्यन्त जरुरी परेका अवस्थामा इमेलमा ([email protected]) अनलाइन भरेको फाराम, यथेष्ट प्रमाण र कारणसहित अनुरोध गर्न सकिने विभागले जारी गरेको सूचनामा उल्लेख छ।
'सीमित सेवाग्राहीलाई प्राथमिकताको आधारमा स्वीकृत भएका निवेदनबारे विभागले दुई कार्य दिनभित्र इमेलबाटै जानकारी गराउने छ। निवेदन स्वीकृत भएका सेवाग्राहीले इमेल प्रिन्ट गरेर तोकिएको मिति र समयमा विभागमा सम्पर्क गर्न आउन अनुरोध गरिन्छ', सूचनामा भनिएको छ।
जिल्ला प्रशासन कार्यालयहरुबाट लाइभ इनरोलमेन्ट भई आएका आवेदनअनुसार राहदानीको उत्पादन गर्ने र जिल्लामा पठाउने काम भने जारी नै रहने विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।