काठमाडौं– धार्मिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डप भित्रको मूर्ति विस्थापित नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको सोमबारको इजलासले काष्ठमण्डप भित्रका रहेका गुरु गोरखनाथ र ४ वटा गणेशका प्राचीन मूर्तिहरु नसार्न अन्तरिम आदेश जारी गरेको हो।
मूर्तिहरु विस्थापित गरिएमा पुरातात्विक महत्वका चिजवस्तुको उपयोगिता र धार्मिक आस्थामा समेत असर पर्ने देखिएको सर्वोच्चले उल्लेख गरेको छ।
खतिवडाको इजलासले साविक देखिका पुराना मूर्तिहरु विस्थापित गर्ने लगायतका कार्य नगरी रिट निवेदनको अन्तिम किनारा नलागेसम्म यथास्थानमा राख्न भनेको छ।
पुन:निर्माण गर्ने क्रममा काष्ठमण्डप भित्र रहेका गुरु गोरखनाथ र ४ वटा गणेशका प्राचीन मूर्तिहरु सार्न लागिएको भन्दै उक्त कार्य रोक्न माग गर्दै अधिवक्ता संजय अधिकारी समेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।