काठमाडौं– वैदेशिक रोजगारीका लागि दुबई पुगेर फर्किएका एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं तारकेश्वनर नगरपालिका-८ जरङ्खुका ३२ वर्षीय संजोग राई, सोही ठाउँका ३० वर्षीय रमेश अर्याल र मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्ने ३१ वर्षीय गोकुल घिमिरे रहेका छन्।
राई र अर्याललाई पुस ३० गते जरङ्खुबाट र घिमिरेलाई माघ २ गते बसन्तनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।
पक्राउ परेकाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट दिन ७ को म्याद लिई थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताए।
के थियो घटना?
पक्राउ परेका तीनै जनाले सिहराको सखुवानाकारकट्टी गाउँपालिका–५ का ३० वर्षीय रामेश्वर रामलाई वैदेशिक रोजगारबाट फर्किएकै दिन गत असोज ६ गते अपहरण गरि बन्धक बनाएको प्रहरीले जनाएको छ।
दुबईबाट फर्किएर बल्खुस्थित होटल कञ्चनजंघामा बसेका उनलाई अपहरण गरि ज्याठास्थित होटल प्लेजर होममा लगेर बन्धक बनाएको प्रहरीले जनाएको छ।
आफूलाई अपहरण गरी बन्धक बनाएको, कुटपिट गरेको, ज्यान मार्ने धम्की दिएको, सेवन गरेका चुरोटको ठुटोले पोली यातना दिई झोला, मोबाइल समेतका सामान लिएको भन्दै उनले प्रहरीमा उजुरी दिएका थिए।
असोज ८ गते बन्धक बनाएको होटलबाट भागेर रामले प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले आरोपी तीन जनालाई चार महिनापछि पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।