काठमाडौं– नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस प्रतियोगिताको फाइनलमा पुगेको हो। जितका लागि १५६ रनको लक्ष्य पाएको बागमती निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०५ रनमा समेटियो।
बागमतीका लागि आदिल खानले सर्वाधिक २७ रनको योगदान गरे। ३३ बल खेलेका उनले उनले तीन चौका प्रहार गरेका थिए। कप्तान ज्ञानेन्द्र मल्लले १६ बलमा २३ रन जोड्दा चार चौका हाने भने रामनरेश गिरी २२ रनमा अविजित रहे।
बलिङतर्फ पुलिसका दीपेन्द्रसिंह ऐरीले पाँच, सागर ढकालले दुई तथा आरिफ शेखले एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले पाँच विकेट गुमाएर १५५ रन जोडेको थियो। पुलिसका लागि ओपनर पवन सर्राफले अर्धशतकीय पारी खेले। उनले ५४ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ५९ रनको योगदान दिए। दिलीप नाथले ३१ तथा अनिल साहले २५ रन बनाए।
बलिङतर्फ बागमतीका नन्दन यादव र रिजन ढकालले दुई–दुई र प्रतिस जिसीले एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।