काठमाडौं– पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले सन् २०२१ को उत्कृष्ट फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन्। जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर लेवान्डोस्कीले लगातार दोस्रो पटक उक्त अवार्ड जितेका हुन्।
इजिप्ट एवं लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह र अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर लियोनल मेस्सीलाई पछि पार्दै लेवान्डोस्कीले फिफा वर्ष खेलाडी अवार्ड हात पारेका हुन्।
फिफाले पोर्चुगल एवं म्यान्चेस्टर युनाइटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई विशेष अवार्डबाट सम्मान गरेको छ। रोनाल्डोलाई पुरुषतर्फ अहिलेसम्मकै सर्वाधिक गोलकर्ताका रुपमा सम्मान गरिएको फिफाले जनाएको छ। उत्कृष्ट फिफा महिला वर्ष खेलाडीको अवार्ड भने बार्सिलोनाकी अलेक्सिया पुटेलासलाई प्रदान गरियो।
उत्कृष्ट उत्कृष्ट गोलरक्षकको अवार्ड चेल्सीका इडोआर्ड मेन्डी र फिफा फेयर प्ले अवार्ड डेनमार्डको पुरुष राष्ट्रिय टिम, प्रशिक्षक अवार्ड पुरुषतर्फ चेल्सीका थोमस टुचेल र महिलामा चेल्सीकै एम्मा हेयसलाई प्रदान गरियो।
विश्व फुटबल महासंघ (फिफा) ले स्वीट्जरल्यान्डको जुरिचमा सोमबार राति आयोजित विशेष समारोहबीच खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।