काठमाडौं- इडेन हाजार्ड प्रिमियर लिग नै फर्कन चाहेको खुलाशा भएको छ। गत वर्ष इंग्लिस क्लब चेल्सीबाट स्पेनिस क्लब रियल मड्रिड पुगेका हाजार्ड पुन: चेल्सी नै फर्किन सक्ने अनुमान लगाइएको छ।
लिलमा फ्रान्सेली लिग उपाधि जितेर चेल्सी पुगेका उनले लन्डन क्लबमा पनि उच्च प्रदर्शन गरेका थिए। रियलमा भने उनी जम्न सकेका छैनन्। पटक पटकको चोट कारण जिनेदिन जिदानको टोलीमा कमै मात्र अवसर पाएका हाजार्डलाई नयाँ प्रशिक्षक कार्लो एन्सेलोट्टीले पनि ध्यान दिएका छैनन्।
रियलका मेडिकल टोलीले पनि उनी पूर्णरुपमा चोटमुक्त हुन नसकेको बताउँदै आएका छन्। यसैबीच बेल्जियमका पत्रकार साचा ताभोलिरीले ट्वीटरमा हाजार्ड यस समस्याबाट निस्कन चाहेको बताएका छन्।
‘हाजार्ड रियल मड्रिड छोड्न चाहन्छन्। क्लब भित्र उनको स्वास्थ्यलाई लिएर बहस छ, जसले खेलाडीलाई फेरि शल्यक्रिया गर्न सल्लाह दिन्छ। यता, अर्को पक्षले उनलाई यसबाट जोगाउने र खेल्न दिएर मूल्य बढाउने धारणा राखेका छन्,’ उनले लेखेका छन्।
रियलनिकट पत्रकार इडु अगुरीले पनि उत्कृष्ट प्रदर्शन गर्न नसकेकोमा हाजार्ड आफैंले महसुस गरेको र उनी त्यहाँबाट पुनः चेल्सी नै फर्कन चाहेको बताएका छन्। पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार केलियन एम्बाप्पेले रियलमा आउने सम्भावना बढेका कारण पनि हाजार्डका लागि सहज हुने छैन।
एम्बाप्पेे रियलमा आबद्ध भए हाजार्डको भूमिका कम हुने सम्भावना रहन्छ। तर, रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेज भने टोलीका सर्वाधिक महंगो खेलाडीलाई अन्यत्र पठाउने पक्षमा देखिएका छैनन्। हजार्डको रियलसँगको सम्झौता सन् २०२४ सम्म रहेको छ।
हाजार्ड १ सय मिलियन युरोमा चेल्सीबाट रियल गएका थिए। रियलमा आबद्ध भएयता हाजार्डले ४३ खेलमा मात्र ५ गोल गरेका छन्। सुरुआती दुवै सिजन हाजार्ड चोटका कारण अधिकांश खेलमा बेञ्चमा रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।