काठमाडौं– दर्शन गुरूङको दुई गोलमा न्यूरोड टिम (एनआरटी)ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबमाथि सहज जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा एनआरटीले जावलाखेललाई २-० गोलले पराजित गरेको हो। एनआरटीका लागि दर्शनले दुवै गोल दोस्रो हाफमा गरेका थिए।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। जावलाखेलले बल पोसेसन राख्दै एनआरटीलाई दबाबमा राखे पनि गोल गर्न भने सकेन।
खेलको नवौं मिनेटमा जावलाखेलका ओनगुना जुनियरको पासमा रुपबहादुर लामाको पेनाल्टी बक्स बाहिरको सशक्त प्रहार आकासियो।
१३औं मिनेटमा क्रिटिश रत्न छुन्जुको पासमा दर्शन गुरुङले वान भर्सेस वानको अवस्थामा गोल गर्ने सुवर्ण अवसर गुमाउँदा एनआरटी अग्रता लिनबाट चुक्यो।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रुपबहादुरको प्रहार बाहिरिँदा जावलाखेलले अग्रता लिन सकेन।
लगत्तै सुरज ज्यु ठकुरीको क्रसमा गौरव श्रेष्ठको हेडरलाई एनआरटीका गोलरक्षक अजित प्रजापतिले सहजै नियन्त्रणमा लिँदा दुवै टोली पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए।
दोस्रो हाफमा उही लयलाई निरन्तरता दिँदै एनआरटीले दुई गोल गर्यो।
५३औं मिनेटमा स्टेफन समिर विनोङको एकल प्रयासको प्रहार पहिलो बारबाट थोरै बाहिरियो। ६७औं मिनेटमा निकोलस फर्नान्डेसको पासमा जावलाखेलका रुपबहादुरको पेनाल्टी बक्सभित्रको फ्रि हेडर आकासियो।
६९औं मिनेटमा दर्शनले गोल गर्दै टोलीलाई अग्रता दिलाए। मेसुके ओलोमोउको सुन्दर पासमा उनले जावलाखेलका गोलरक्षक टेकेन्द्र थापालाई बिट गर्दै सहजै गोल गरे।
त्यसको ४ मिनेटमै दर्शनले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २-० गोलको जित दिलाए। उनले स्टेफन समिरको पासमा सहजै गोल गरे।
८५औं मिनेटमा रुपबहादुरको फ्रिकिकलाई गोलरक्षक अजितले पञ्च गर्दै बचाउँदा जावलाखेल अग्रता कम गर्नबाट चुक्यो।
जितसँगै एनआरटीले ९ खेलमा १३ अंक जोडेको छ। एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ।
यता, जावलाखेलले ९ खेलमा ८ अंक जोडेको छ। जावलाखेल दशौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।