महोत्तरी– बर्दिबास नगरपालिकाका जनप्रतिनिधिले नदीमा हुँदै आएको अवैध दोहन रोक्ने प्रतिबद्धता जनाएका छन्। नगरक्षेत्रका नदीबाट कानुनविपरीत बालुवा, ढुंगा उत्खनन गरी निर्यात गर्दै आएका र अवैधरूपले सञ्चालनमा ल्याइएका क्रसर उद्योग तत्काल बन्द गरिने नगरप्रमुख विदुरकुमार कार्कीले बताए।
जिल्लामा क्रसर उद्योग (नदीबाट बालुवा, ढुंगा उत्खनन, प्रशोधन र निर्यात गर्ने उद्योग) का लागि बर्दिबास सबैभन्दा उपयुक्त स्थल मानिन्छ। नगरक्षेत्रमा २० भन्दा बढी यस्ता उद्योगले अवैधरूपमा उत्खनन गरिरहे पनि नगर नेतृत्व मुकदर्शक बनेको आरोप चुलिँदै गएपछि उनले अवैधरूपले सञ्चालित यस्ता उद्योग तत्काल बन्द गरिने प्रतिबद्धता जनाएका हुन्।
बर्दिबासमा २०७४ मा भएको स्थानीयतहको निर्वाचनयता लगातार नदीको अवैध दोहन बढेकाले स्थानीय सरकार मुकदर्शक बनेको आरोप लाग्दै आएको छ। यसबीचमा क्रसर उद्योग फस्टाउँदै जानुमा जनप्रतिनिधिकै लगानी रहेकाले कारबाही अघि नबढाइएको जनगुनासो बढेको भन्ने सञ्चारकर्मीले गरेको जिज्ञासामा नगरप्रमुख कार्कीले भने, ‘मेरो कुनै क्रसर उद्योगमा लगानी वा सेयर छैन, तपाईहरु भ्रममा नरहनुहोस्, अब यस्ता अवैध उद्योग चल्न दिइँदैन। यो अभियानकै रुपमा कार्यान्वयनमा ल्याइन्छ।’
जिल्लामा बर्दिबासपछि गौशाला र भङ्गाहा नगरपालिकामा क्रसर उद्योग सञ्चालन हुँदै आएको छ। जिल्लामा क्रसर उद्योगलाई धाक, रवाफ देखाउने र आफ्नो राजनीतिक अभिष्ठा पूरा गर्न ‘डन’ परिचालन गर्ने व्यवसायका रुपमा पनि चित्रण गरिन्छ तर यस्ता आरोप दूराग्रह मात्र भएको क्रसर व्यवसायी विजय मण्डलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।