काठमाडौं– शतप्रतिशत जितसँगै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘ए’ अन्तर्गत आफ्नो अन्तिम खेलमा पुलिसले सोमबार प्रदेश १ माथि ६ विकेटको सहज जित हात पारेको हो।
१०२ रनको सामान्य विजयी लक्ष्य पुलिसले १३.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। पुलिसको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ४४ रन बनाए।
भुर्तेलले २८ बल खेल्दा समान तीन चौका र तीन छक्का प्रहार गरे। यता, अनिल शाह २६ रनमा अविजित रहे।
दीपेन्द्र सिंह ऐरीले २० रन जोडे। आरिफ शेख ४ बलमा २ चौकासहित १० रनमा अविजित रहे।
प्रदेश १ का मनोज तामाङ, मुकुन्द यादव, फिर्दोस अन्सारी र दिपेश कँडेलले १–१ विकेट हात पारे।
त्यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन बनाएको थियो।
प्रदेश १ का ओपनर मिनाश थापाले सर्वाधिक ५९ रनको योगदान दिए। उनले ५९ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
यता, श्रवण यादव १० रनमा आउट भए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पुलिसका लागि आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र मन्जित श्रेष्ठले दुई-दुई विकेट लिए। करण केसी र सागर ढकालले १–१ विकेट लिए।
समूह ‘ए’मा पुलिसले ४ मध्ये ४ वटै खेलमा जित हात पार्दै ८ अंक जोडेको छ। त्रिभुवन आर्मी क्लबले समान खेलमा ६ अंक जोडेको छ। आर्मीले २ खेलमा जित तथा १ खेलमा प्रदेश १ सँग अंक बाडेको थियो।
यता, सुदूरपश्चिम प्रदेश ४, कर्णाली २ र प्रदेश १ केवल १ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको थियो।
अब पुलिसले पहिलो सेमिफाइनलमा मंगलबार समूह ‘बी’ को उपविजेता बागमती प्रदेशसँग खेल्नेछ। समूह ‘बी’ को विजेता एपीएफले समूह ‘ए’ को उपविजेता त्रिभुवन आर्मी क्लबसँग दोस्रो सेमिफाइनल खेल्नेछ। फाइनल बुधबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।