काठमाडौं- घरेलु टोली अस्ट्रेलियाले इङ्ल्यान्डसँगको पाँच टेस्टको एशेज सिरिज ४–० ले जितेको छ। शनिबार सम्पन्न इङ्ल्यान्डसँग पाँचौं तथा अन्तिम टेस्ट खेलमा १ सय ४६ रनको सानदार जित हात पार्दै अस्ट्रेलिायले सिरिज जितेको हो।
अस्ट्रेलियाले सुरुआती तीन खेलमा लगातार जितका साथ एशेज ट्रफी जितेको थियो। २ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्यान्ड १ सय २४ रनमा अलआउट भयो।
इङ्ल्यान्डका ओपनर ज्याक क्रलीले सर्वाधिक ३६ रन बनाए। रोरी बन्र्स २६, जो रुट ११, डेविड मलान १०, बेन स्टोक्स र ओली पोप ५–५ रनमा आउट भए। अस्ट्रेलिया प्याट कमिन्स, स्कट बोल्यान्ड र क्यामरन ग्रिनले ३–३ विकेट लिए।
त्यसअघि दोस्रो इनिङ्समा अस्ट्रेलिया १ सय ५५ रनमा अलआउट भएको थियो। पहिलो इनिङ्समा अस्ट्रेलियाले १ सय १५ रनको अग्रता लिएको थियो।
अस्ट्रेलियाका विकेटकिपर एलेक्स केरीले सर्वाधिक ४९ रन बनाए। यता, स्टिभ स्मिथले २७ र क्यामरन ग्रिनले २३ रन जोडे।
इङ्ल्यान्डका तीव्र गतिका बलर मार्क वुडले सर्वाधिक ६ विकेट लिए। स्टुअर्ट ब्रोडको नाममा ३ विकेट रह्यो।
अस्ट्रेलिया पहिलो खेलमा ९ विकेट, दोस्रो खेलमा २ सय ७५ रन र तेस्रो खेलमा १४ रनको इनिङ्स अन्तरले विजयी भएको थियो। चौथो खेल ड्र भएको थियो।
अस्ट्रेलियाले अब न्यूजिल्यान्डसँग तीन ओडिआई र एक टी२० आई खेल खेल्नेछ। पहिलो ओडिआई खेल ३० जनवरीमा हुनेछ।
यता, इङ्ल्यान्डले वेस्टइन्डिजसँग पाँच टी२० आई सिरिज र तीन टेस्ट सिरिज खेल्नेछ। इङ्ल्यान्ड र वेस्टइन्डिजबीचको पहिलो टी२० खेल २२ जनवरीमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।