काठमाडौं- विराट कोहलीले राजीनामा दिएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले टेस्ट कप्तान छान्न ठूलो निर्णय लिनुपर्ने छ। यद्यपि बीसीसीआईसँग रोहित शर्माको स्पष्ट विकल्प छ, जसले यसअघि टी२० र एकदिवसीयको कप्तानी सम्हालेका छन्। तर, कसलाई कप्तान बनाउने भन्ने विषयमा छलफल भइरहेका छन्।
रोहित शर्मा
यो दौडमा सबैभन्दा अगाडि छन् रोहित। दक्षिण अफ्रिका भ्रमणका लागि टेस्ट टोली घोषणा गर्दा बीसीसीआईले अजिंक्य रहाणेको स्थानमा रोहितलाई उपकप्तान बनाएको थियो। तर, चोटका कारण उनी यो भ्रमणमा जान सकेनन् र उनको स्थानमा केएल राहुललाई फेरि उपकप्तान बनाएर पठाइयो।
सन् २०२१ को जनवरीमा अस्ट्रेलिया भ्रमणका लागि टोलीमा फर्किएपछि रोहितले टेस्ट प्रतियोगितामा आफूलाई स्थापित गरेका छन्। त्यसपछि उनी टोलीका लागि महत्त्वपूर्ण सदस्य बन्दै आएका छन्।
उनलाई भर्खरै बीसीसीआईले सीमित ओभरको टोलीको कप्तानसमेत बनाइएको छ। विश्व टेस्ट च्याम्पियनसिप, २०२३, एकदिवसीय विश्वकप र यस वर्षको टी२० विश्वकपलाई हेरेर बीसीसीआईले रोहितलाई तीनवटै ढाँचामा टोलीको कप्तानी गर्ने निर्णय गर्न सक्छन्।
तर, रोहितलाई फिटनेसमा समस्या देखिएको छ। सन् २०१० मा टेस्ट डेब्यू गर्दा उनले फुटबल खेल्दा खुट्टामा चोट बोकेका थिए। यसपछि उनलाई बारम्बार ह्यामस्ट्रिङ वा घुँडाको चोटले सताउँदै आएको छ। यसका साथै उनले तीनवटै फर्म्याटको कप्तानीको भार एकैपटक बोक्न नसक्ने र कप्तानी दबाबका कारण उनको ब्याटिङमा असर पर्ने आकलन गरिएको छ। योसँगै रोहितको उमेर पनि ३४ वर्ष छ, जुन उनको विरुद्धमा जान सक्छ।
केएल राहुल
भारत–दक्षिण अफ्रिका सिरिजको दोस्रो टेस्टमा कोहली घाइते भएपछि केएल राहुलले पहिलो पटक कप्तानीको जिम्मेवारी सम्हालेका थिए। राहुलको टेस्ट करियरमा टर्निङ प्वाइन्ट त्यो थियो जब मयंक अग्रवालको चोटका कारण इंग्ल्याण्ड भ्रमण गुमाए।
उनी यो भ्रमणमा भारतका लागि दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बने। उनले दक्षिण अफ्रिका भ्रमणको पहिलो टेस्टमा पनि शतक बनाएका थिए।
उनी २९ वर्ष पुगेका छन्। उनले आईपीएलका पछिल्ला दुई सिजनमा पञ्जाब किंग्सको कप्तानी गरेका थिए र यस अवधिमा उनको ब्याटिङमा खासै असर परेको छैन। त्यसैले उनलाई २०२० मा अस्ट्रेलिया भ्रमणमा गर्दा एकदिवसीय टोलीको उपकप्तान बनाइएको थियो। अब उनले रोहितको अनुपस्थितिमा दक्षिण अफ्रिकामा पनि टोलीको नेतृत्व गर्नेछन्।
राहुल शीर्ष र मध्यक्रममा जहाँसुकै ब्याटिङ गर्न सक्छन्। तर, राहुलसँग टेस्टको कप्तानी गरेको खासै अनुभव छैन। योसँगै पञ्जाब किंग्सका लागि कप्तानी हुँदा उनको कीर्तिमान खासै राम्रो रहेन। उनको कप्तानीमा पञ्जाबले २७ खेलमध्ये १५ खेलमा हार बेहोरेको छ।
ऋषभ पन्त
ऋषभ पन्त मात्र २४ वर्षका छन्। उनी चतुर, फुर्तिलो र आक्रामक छन्। उनी दशकौंदेखि विकसित हुने प्राकृतिक र विशेष प्रतिभाको रूपमा चिनिन्छ।
उनी आलोचनाबाट प्रभावित हुँदैनन् र ब्याटले जवाफ दिन्छन्। अस्ट्रेलिया, इङ्ल्यान्ड र दक्षिण अफ्रिकामा पनि उनको नाममा शतक छ। तर, उनमा अनुभवको कमी छ।
उनले आईपीएलमा दिल्ली क्यापिटल्सको कप्तानी गरेका थिए। तर, उनले भारतीय टोलीकोकप्तानी वा उपकप्तान गर्ने अवसर पाएका छैनन्। तर, भविष्यलाई हेर्दा चयनकर्ताले उनलाई उपकप्तान बनाउन सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।