काठमाडौं- युवा ओपनर देव खनालको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशमाथि सहज जित हात पारेको छ।
आइतबार सम्पन्न खेलमा लुम्बिनीले गण्डकीमाथि ५ विकेटको जित हात पार्दै प्रतियोगिताको सुखद् अन्त्य गरेको हो।
१०५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १३.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
लुम्बिनीको जितमा ओपनर देव खनालले ५६ रनको उत्कृष्ट इनिङ्स खेले।
आक्रामक ब्याटिङ गरेका देवले २६ बलमा १० चौका र १ छक्का प्रहार गरे। देवको जारी प्रतियोगितामा यो दोस्रो अर्धशतक हो। सुशान्त थापाले २६ रनको योगदान गरे।
गण्डकीका स्पिनर सुवास भण्डारीले सर्वाधिक ३ विकेट लिए। यता, अशोक श्रेष्ठ र विशाल पौडेलले १–१ विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको गण्डकी १९.१ ओभरमा १०४ रनमा अलआउट भयो।
गण्डकीका मध्यक्रमका ब्याटर अनिङ गुरुङले सर्वाधिक ५० रनको योगदान दिए। उनले ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
यता, गोविन्द विक १२, विधान श्रेष्ठ १४ र विशाल पौडेलले १६ रन बनाए।
लुम्बिनीका स्पिनर अनिल खरेलले सर्वाधिक ४ विकेट लिए। कप्तान कृष्ण कार्की र दीपेन्द्र रावतले २–२ विकेट लिए। दुर्गेश गुप्ता र तुलबहादुर थापाले १–१ विकेट लिए ।
समूह ‘बी’बाट एपीएफ ४ मा अपराजित रहँदै ८ अंकका साथ शीर्षस्थानमा रह्यो। बागमती ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो।
यता, लुम्बिनी ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा रह्यो। प्रदेश २ ले ४ खेलमा ३ मा हार र १ मा जितसहित चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो।
यस्तै, गण्डकी ४ खेलमा जितविहीन रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।