काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टार क्लबले संकटा क्लबलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न दिनको दोस्रो खेलमा थ्रीस्टारले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्दै महत्तवपूर्ण ३ अंक जोडेको हो। थ्रीस्टारलाई जित दिलाउन विजय भुजेलले निर्णायक गोल गरे।
खेल सकिन केही सेकेन्ड बाँकी रहँदा डिबक्स भित्रबाट राफायल रिमले दिएको पासलाई नियन्त्रणमा लिँदै विजयले विजयी गोल गरेका हुन्।
खेलको पहिलो हाफमा दुवै टोलीले गोलका केही मौका सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेनन्।
खेलको चौथो मिनेटमा थ्रीस्टारले अग्रता लिने अवसर गुमाएको थियो। डिफेन्डर निशान खड्काले पेनाल्टी एरीया बाहिरबाट गरेको फ्रीकिक प्रहार सिधै संकटाका गोलरक्षक राजाबाबु थापाको हातमा परेको थियो।
सातौं मिनेटमा संकटाका फरवार्ड फोडे फोफानाले पेनाल्टी एरिया बाट गरेको प्रहार थ्रीस्टारका गोलकिपर प्रिसोले बचाए। त्यसको एक मिनेट नबित्दै अमित तामाङको क्रसमा लक्ष्मण रुचालले करिब ६ यार्ड बक्स अगाडिबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो।
३४औं मिनेटमा लक्ष्मणको पासमा ओलुवासोगो ग्लोरीले करिब ६ यार्ड बक्स अगाडिबाट गरेको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गर्दा संकटाले अग्रता बनाउने अर्को मौका गुमायो।
इन्जुरी समयमा थ्रीस्टारका निसान खड्काको क्रसमा सन्जोग राईले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार फ्रेममा नपर्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
खेलको दोस्रो हाफमा दुवै टोलीबाट केही उत्कृष्ट गोल गर्ने मौका सिर्जना भएको थियो। तर, दुवै टोलीका रक्षक निकै व्यस्त बनेको खेलको नतिजा भने खेल सकिन केहि सेकेन्ड बाँकी रहँदा निस्किएको थियो।
जितसँगै थ्रीस्टारले ९ खेलमा १६ अंक जोडेको छ। थ्रीस्टार लिगको चौंथो स्थानमा उक्लिएको छ। संकटाले ९ खेलमा १४ अंक जोडेको छ। संकटा पाँचौं स्थानमा झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।